मेरो लेन्स मेरो यथार्थ
अपाङ्गता भएका महिलाको अधिकारका बारेमा
International Sign
मेरो लेन्स मेरो यथार्थ मेरो लेन्स , मेरो यथार्थ प्रदर्शनीले नेपालका १० जना अपाङ्गता भएका महिलाहरुको कथा प्रस्तुत गरेको छ। महिलाहरुको पोर्ट्रेटसंगै उनिहरुले खिचेका फोटोहरु यहाँ प्रस्तुत गरिएका छन्। यसमार्फत महिलाहरुले आफुले भोग्नु परेका अवरोध र साथै आफुलाई नेपाली समाजमा घुलमिल हुन सक्षम बनाउने कुराहरुको कथा भनेका छन्। महिला भएका कारण, अपाङ्गता कारण, सिमान्तकृत पारिएका कारण वा गरिबीका कारण विभिन्न खाले भेदभावको सामना गर्दै एउटा सम्मानजनक जीवन बिताउन उनिहरु संघर्षरत छन्। नेपालमा अपाङ्गता भएका महिलाहरुको अवस्था र आवश्यकताको अनुमान, पहिचान र अध्ययन कमै भएको छ। पहुँच, ज्ञान, सहयोग र सामाजिक चेतनाको बलमा अपाङ्गता भएका महिलाहरु जीवनका हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता जनाउन र समाजमा योगदान गर्न सक्छन भन्ने कुरा उनिहरुका कथाहरुले देखाउँछन।
फोटोभोइस विधिले सहभागीहरुलाई आफुलाई महत्वपुर्ण लागेको विषय पहिचान गर्न र आफ्नो कथा भन्न उत्प्रेरित गर्दछ। यसले सहभागीहरुका दृष्टिकोणबाट संसार हेर्ने अवसर दिन्छ। यो परियोजनाले समाजलाई हामी सबैका लागि समावेशी बनाउनका लागि आम समुदाय र नीतिनिर्माताहरुको सोचमा परिवर्तन ल्याउने उद्देश्य बोकेको छ।
नेपालको सामाजिक, आर्थिक र राजनीतिक वृत्तमा अपाङ्गता भएका महिलाहरूको पूर्ण समावेशीकरण सुनिश्चित गर्न अझै धेरै गर्न बाँकी छ। फोटोभोइस अध्ययनले अपाङ्गता भएका महिलाहरूको अधिकार सुनिश्चित गर्न, उनिहरूका सरोकारहरूलाई मूलप्रवाहमा ल्याउनुका साथै उनिहरूको विशेष आवश्यकताहरूलाई पनि लक्षित गर्न सामूहिक पहलको आवश्यकता रहेको देखाउँछ।
[custom-twitter-feeds hashtag="#mylensmyreality"]
देउ कुमारी
अपाङ्गताका कारण देउ कुमारी आधारभूत शिक्षाबाट वञ्चित भइन् । स्थानीय अपाङ्गता भएका व्यक्तिहरुको संस्थाको सहयोगमा उनले सीप तालिम लिएकी हुन् । उनी अहिले टेलरिङको मास्टर ट्रेनर हुन् । अपाङ्गता भएका महिलाहरूलाई अवसर दिइयो भने उनिहरू आत्मनिर्भर भएर बाँच्न सक्छन्, उनिहरू आफ्नो परिवार र अरूलाई पनि सहयोग गर्न सक्ने उनको भनाइ छ । देउ कुमारी विवाहित हुन् र उनका तीन सन्तानहरू छन् ।
गंगा
लिङ्ग, अपाङ्गता, उमेर, धारणा र भाषामा आधारित भेदभावले गंगाको दैनिक जीवनलाई असर गर्छ। सामाजिक उद्यमशीलता मार्फत उनी यी सामाजिक चुनौतिहरू विरुद्ध लड्दै छिन् र अन्य अपाङ्गता भएका महिलाहरूलाई आत्मविश्वास प्राप्त गर्न प्रोत्साहित गरिरहेकी छिन् ।
सहिदा
सहिदाका लागि स-साना कुराहरूले साँचो खुशी ल्याउँछन् र त्यहि नै सफल जीवन हो। कमजोर आर्थिक अवस्था, चुनौतीले भरिएको अन्तर-जातीय विवाह र अपाङ्गताका कारण उनलाई परिवारबाट बाहिर निकालियो । तर उनले खुशी रहन र आफ्नो जीवनको हरेक पलमा रमाउन सिकिन्।
कमला
कमलाको लागि परम्परागत आदिवासी जीवनशैली महत्त्वपूर्ण छ । सीमान्तकृत समुदायकी अपाङ्गता भएकी महिला भएकाले उनलाई समाजमा बस्न असहज भइरहेको छ । उनी स्थानीय अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्थाको सहयोगमा आफुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै गएकी छन् ।
सुनिता लुइँटेल
मनोसामाजिक अपाङ्गता सम्बन्धि आफ्नै अनुभवका आधारमा सुनिता अहिले स्थानीय तहमा मानसिक स्वास्थ्यलाई पनि शारीरिक स्वास्थ्य जस्तै गरि प्राथमिकतामा राख्नका लागि जनचेतना जगाउन अग्रसर छिन्। उनी आफु र स्वावलम्बन समूहमा रहेका आफु जस्तै अन्य सदस्यको अधिकारका लागि पैरवी गर्ने काम गर्दछिन्।
रश्मी
रश्मी एक बहिरा महिला कलाकार हुन्। उनको कलाले बहिरा कलाकार का रुपमा उनको आफ्नै संस्कृति, भाषा र समुदायलाई दर्शाउँछ। आफ्नो कलामार्फत रश्मी सामाजिक, शारीरिक, सांस्कृतिक र राजनीतिक रूपमा पछाडी पारिएका वर्गहरूको आवाज उठाउन चाहन्छिन्। उनी यस्ता व्यक्तिहरूलाई केही राम्रो गरेर आफ्नो जीवनमा अगाडी बढ्न प्रोत्साहित गर्न चाहन्छिन्।
सुनिता नेपाली
पूर्णतया दृष्टिविहिन भएका कारण सुनिताले दैनिक जीवनमा धेरै समस्याको सामना गर्नु परेको छ। सडक तथा भवनहरु पहुँचयुक्त छैनन। त्यसैगरी बाटो काट्ने ठाउँ र सार्वजनिक बस स्टपहरुमा आवाज दिने संयन्त्र छैनन जसले गर्दा उनको जीवन कष्टकर भएको छ। सरकारले समावेसिताका लागि कार्य गरोस भन्ने उनको चाहना छ।
रूपा
शारीरिक अपाङ्गता रूपाको रोजाइ होइन, तर उनी यसलाई आफ्नो शक्ति मान्छिन्। धेरै अस्वीकृतिहरू र अधिक कष्ट पार गरिसकेपछि, अन्ततः उनले आफ्नो बाटो भेट्टाइन्। आफ्नो आमाको सहयोगले उनले ‘अचार’ बेच्ने सानो व्यवसाय सुरु गरिन्। उनको अपाङ्गता भन्दा उनको सकारात्मक मनोवृत्ति धेरै बलियो रहेछ भनेर उनले आफैलाई प्रमाणित गरिन् ।
बबिता
बबिता मनोसामाजिक अपाङ्गता भएकी महिला हुन। विभिन्न खाले अवरोधका कारण उनले आफ्नो पढाइलाइ निरन्तरता दिन सकिनन्। अहिले उनि आफ्नो परिवारको सहयोग पाएर सिलाई-कटाईको काम गरेर आफ्नो गुजारा गर्दछिन् ।
सुमित्रा
सुमित्रा हालै जलबिन्दुका कारण दृष्टिविहीन भएकी हुन्। यसले उनलाई आर्थिक रूपमा आफ्नो परिवारमा निर्भर बनाएको छ। उनलाई चाहिने औषधि महँगो छ। आफु जस्ता दृष्टिविहीनलाई सरकारले थप रोजगारीको अवसर प्रदान गरोस् भन्ने उनको चाहना छ।